भोलिबाट पुनः शिक्षकहरु आन्दोलित हुँदै
काठमाडौं – नेपाल शिक्षक महासंघले भोलि(चैत २० गते)देखि अनिश्चितकालीन सडक आन्दोलन घोषणा गरेको छ । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले महासंघ माघ २० गतेबाटको आन्दोलनलाई भोलीबाट थप निरन्तरता दिने बताए । यसक्रममा पालिका, जिल्ला र प्रदेश तहमा आन्दोलनका कार्यक्रमहरू सम्पन्न भएका छन् । पहिलो चरण अन्तर्गतको अन्तिम कार्यक्रमको रूपमा गत फागुन २४ काठमाडौंमा वृहत् सडक आन्दोलन सभा सम्पन्न भयो ।
‘दोस्रो चरण अन्तर्गत २०८१ फागुन २७ गतेबाट २०८१ चैत्र ५ गतेसम्म राजनीतिक दलहरूको केन्द्रीय कार्यालयमा धर्ना गरियो भने चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यालय परिसरमा रिले अनशन सम्पन्न भयो, दोस्रो चरणको अन्तिम र निर्णायक कार्यक्रमको रूपमा २०८१ चैत्र २० गतेबाट ‘काठमाडौं जाऔं अभियान’ अघि बढाइएको छ, यस अन्तर्गत देशभरका सबै शिक्षक कर्मचारीको सहभागितामा अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन अघि बढाइने भएको छ,’उनले भने ।
उनले स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी÷करार, प्राविधिक धार, विशेष शिक्षा तथा संस्थागत विद्यालय लगायत सबै प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्धका पक्षमा स्पष्ट मार्ग निर्माण गर्न सक्ने नयाँ विद्यालय शिक्षा ऐन जारी नभएसम्म यो आन्दोलन निरन्तर चली रहने जानकारी दिए ।
‘महासंघ र सरकारबीच विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक÷कर्मचारी मैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्यपक्षलाई बाध्य पार्नु यस आन्दोलनको उद्देश्य भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस