निरन्तर आन्दोलनमा शिक्षकहरु, कार्यवाहक प्रधानमन्त्रीले बोलाएको वार्तामा नजाने
काठमाडौँ । देशभरका शिक्षकहरुको आन्दोलन काठमाडौँमा जारी छ । शिक्षा ऐनको माग गर्दै बुधबार देखि पुनः शिक्षकहरु आन्दोलनमा होमिएका हुन् । यसैबिच कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको वार्तामा आन्दोलन गरिरहेका शिक्षकहरू नजाने भएका छन् ।
कार्यवाहक प्रधानमन्त्री सिंहले दिउँसो तीन बजे आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाएका थिए । त्यो वार्तामा आफूहरू नजाने विद्यालय कर्मचारी परिषद् अध्यक्ष गङ्गाराम तिवारीले जानकारी दिए । ‘हामी उहाँले बोलाएको छलफलमा जाँदैनौ,’ तिवारीले भने, ‘प्रधानमन्त्रीसँग बाहेक अरूसँग वार्ता गर्दैनौँ ।’
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू काठमाडौँ आएर चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन् । सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले काठमाडौँको माइतीघर बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस