नेपाल विद्युतीय व्यावसायी महासंघको १५औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको १५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल भरमा २२ नगर/जिल्ला सङ्घहरू एवं ७५ एसोसिएट सदस्यहरू रहेको विद्युतीय व्यवसायीहरूको छाता संस्थाले एक कार्यक्रमका बिच गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा पोखरामा भव्यताका सभा सम्पन्न गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै व्यवसायलाई अगाडि बढाउने क्रममा प्रदेशका कानुन बाधक भए कानुन नै संशोधन गर्न पनि तयार रहेको मुख्यमन्त्री पाण्डेले बताए । प्रदेश सरकार अन्तर्गत सम्बन्धित निकायका कारण लगानी मैत्री वातावरण नभएमा, प्रशासनिक झन्झट परेमा, व्यवसायलाई अगाडि बढाउने क्रममा प्रदेशका कानुन बाधक भएमा छलफल गरी कानुनमा आवश्यक संशोधन गर्न तयार रहेको बताए ।
‘सरकारले आफैं व्यापार गर्ने होइन, सरकारले उद्योग धन्दा खोल्ने होइन, सरकारले निजी क्षेत्रलाई सहजीकरण गरिदिने हो, निजी क्षेत्रलाई प्रोत्साहित गर्ने हो, जति निजी क्षेत्रको लगानी बढ्छ, त्यति सरकारको राजस्व बढ्छ, राजस्व बढ्यो भने मात्र सरकारले विकास निर्माणको कार्य गर्न सक्छ’ उनले भने ।
साथै उनले सन् २०३० सम्ममा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने नेपाल सरकारको लक्ष्य रहेको तथा नाफा घाटा मात्र नभई दैनिक जीवनमा समेत प्रभावित पार्ने व्यवसाय भएकाले, विद्युतीय व्यवसायको भविष्य उज्ज्वल रहेको, अन्य व्यवसाय जस्तो यस व्यवसायमा आर्थिक मन्दीले ठूलो असर नगर्ने भन्नु हुँदै उत्साहित भएर व्यवसायमा लगानी बढाउन अनुरोध समेत गरे ।
कार्यक्रममा महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले प्रमुख अतिथि एवं अतिथिहरूलाई स्वागत गर्दै बजारमा बिक्री वितरणमा पठाउनु अघि स्वदेशमा उत्पादित वस्तु भए सम्बन्धित उत्पादकले र विदेशबाट पैठारी गर्ने वस्तुमा भए पैठारीकर्ताले अनिवार्य लेबल लगाउनु पर्ने व्यवस्थाले व्यवसायी मर्कामा परेकाले हाललाई उक्त नियम स्थगन गर्नुपर्ने राय व्यक्त गरे । साथै भन्सार महसुल, भ्याटदेखि भन्सार नाकामा बुझाउन पर्ने सम्पूर्ण रकमहरू बुझाई सरकारको नीति नियम अनुसार वस्तु उत्पादन एवं बिक्री वितरण गरेका व्यवसायीहरूलाई पि.सि.ए र फूल अडिटको नाममा फेरि दुःख दिने अवस्थाको अन्त्य गर्नुपर्नेमा समेत जोड दिए ।
साथै उनले उद्यमीहरूलाई प्रवद्र्धन गर्न विद्युतिय वस्तु उत्पादन तथा एसेम्बल गर्ने उद्योगहरूका लागि विशेष कर छुट वा राहत योजना लागू गर्नुपर्ने, उद्योगको कच्चापदार्थ आयात गर्दा ०% भन्सार दर र एसेम्बल गर्ने उद्योगहरूको हकमा एक तह माथिको अर्थात् ५% भन्सार दर कायम गरिनुपर्ने, नेपाली उद्योगबाट उत्पादन भएका विद्युतीय सामाग्रीहरूमा लगाइएको अन्तःशुल्क खारेजी हुनुपर्ने, विद्युतीय उद्योगका उत्पादन प्रवद्र्धनको लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने नीति ल्याउनु पर्नेमा जोड दिए । साथै आर्थिक समस्यामा परेर बन्द हुने अवस्थामा रहेका उद्योगहरूलाई सरकारी निकायबाट प्रोत्साहन कर्जा दिने व्यवस्था गर्नुपर्ने तथा स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने, नेपालमा उत्पादित विद्युतिय सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन कर छुट तथा प्रोत्साहनका कार्यक्रम ल्याइनु पर्ने बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य एवं खेलकुद तथा मनोरञ्जन मञ्चका अध्यक्ष हरि बहादुर कार्कीले दुई खर्बभन्दा बढीको लगानी रहेको र ३० हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको विद्युतीय व्यवसायीलाई परेको समस्या समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघ सदैव लबिङ गर्दै आएको बताए । साथै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, कच्चा पदार्थमा सहुलियत भन्सार दर उपलब्ध गराउन प्रदेश सरकारले आवश्यक पहल गर्नुपर्ने भन्नु हुँदै विद्युतीय व्यवसायीलाई परेको अनिवार्य अधिकतम खुद्रा मूल्य कर नीति, टेस्ट ल्याब नभएको लगायतका विद्युतीय व्यवसायीलाई परेका समस्या समाधान गराउन नेपाल उद्योग वाणिज्य महासङ्घबाट कार्य गरिँदै आएको र आगामी दिनमा अझ जोडदार रूपले लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा शारडा ग्रुपका निर्देशक एवं संविधान सभा सदस्यमा ननियपवन कुमार सारदाले नेपालीहरूलाई जुन तहमा समस्या पर्छ त्यही तहमा समाधान गर्न सकियोस् भनेर तीन तहको परिकल्पना गरी संविधान बनाइएको तर सो अनुसार कार्य हुन नसकेकोमा दुःख व्यक्त गदै देशमा व्याप्त समस्याका कारण युवाहरू विदेश जान बाध्य रहेको बताए । कार्यक्रममा महासंघका निर्वतमान अध्यक्ष सुदर्शन प्रसाद पौड्याल र महासंघका कार्यसमिति सदस्य एवं आयोजित जिल्ला संघका अध्यक्ष केशव ढकालले विद्युतीय व्यवसायीहरूलाई परेको समस्याहरूलाई उजागर गर्दै समाधानको लागि पहल गरी दिन मुख्यमन्त्रीलाई आग्रह गरेका छन् ।
पोखरा इलेक्ट्रिकल एसोसिएशन आयोजित जिल्ला संघ रही पोखरा, कास्कीमा आयोजना गरिएको नेपाल विद्युतीय व्यवसायी महासंघको पन्ध्रौँ वार्षिक साधारण सभालाई मुख्य प्रायोजन प्रिमियर वायर्स प्रा. लि. ले गरेको थियो भने सह प्रायोजन प्राइम भेन्चर्स प्रा. लि., र भिस्टा इलेक्ट्रिक प्रा. लि. (कोरोना) ले गरेको थियो । त्यस्तै उप–प्रायोजनमा एनजी इलेक्ट्रिकल्स प्रा. लि., आर.के.ओभरसीज प्रा. लि., जनता केबल इन्डस्ट्रिज प्रा. लि. र ए एस इलेक्ट्रिक एण्ड मेशिनरी स्टोर्सले गरेका थिए । कार्यक्रम आयोजना गर्न २० बटा भन्दा धरै कम्पनीहरूले ब्यानर सहयोग उपलब्ध गराएका थिए । नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष एवं पन्ध्रौँ वार्षिक साधारण सभा मूल आयोजक समितिका संयोजक प्रेमबहादुर जी.सि.ले प्रमुख अतिथि, अतिथि लगायत सहभागी सबैलाई सहभागिताको लागि धन्यवाद दिएका थिए । कार्यक्रमको सञ्चालन महासंघका महासचिव गोपाल अग्रवालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस