अब सीटीईभीटीमा प्रवेश परीक्षा नहुने, जीपीएकै आधारमा विद्यार्थी छनोट गरिने

नवनारी
१ जेठ २०८२
289 Views

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतका कुनै पनि कार्यक्रम अध्ययन गर्न अब देखि विद्यार्थीले इन्ट्रान्स परीक्षा (प्रवेश परीक्षा) नहुने भएको छ । परिषद्ले हालै जारी गरेको ‘प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका २०८२’ लागू भएसँगै यो व्यवस्था हटाइएको हो ।

निर्देशिका अनुसार अबदेखि एसईई वा एसएलसीमा प्राप्त अङ्कका आधारमा विद्यार्थी छनोट गरिनेछ । एसईईमा प्राप्त अङ्कलाई जीपीए ४ पूर्णाङ्क मानिनेछ । सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई अतिरिक्त १ अङ्क र संस्थागत (निजी) विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ०.८५ अङ्कका दरले योग्यता क्रम तय गरिनेछ ।

वैशाख २६ गते बसेको सीटीईभीटीको २०७ औं बैठकले परीक्षा नियन्त्रण कार्यालयलाई सो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो । सोही निर्णयअनुसार इन्ट्रान्स परीक्षा यही शैक्षिक सत्रदेखि हटाइएको हो । यसअघि इन्ट्रान्स परीक्षा तयारीका लागि कक्षा सञ्चालन गरिने गरिन्थ्यो, जसमा विद्यार्थीबाट मोटो शुल्क लिइने गरिएको थियो । अब भने विद्यार्थीहरू एसईईको जीपीएको आधारमा सिधै भर्ना हुन पाउनेछन् ।

देशभर रहेका ६३ वटा आङ्गिक र ४०० भन्दा बढी प्रतिष्ठान तथा निजी कलेजहरूमा हरेक वर्ष २५ हजारभन्दा बढी विद्यार्थी भर्ना हुने गर्छन् । अब ती विद्यार्थीले आफूले रोजेको शिक्षालय तथा विषयमा अनलाइनमार्फत भर्ना फारम भर्न सक्नेछन् । सम्बन्धित क्याम्पसहरूले फारम भर्न सहजता मिलाउने व्यवस्था मिलाउने छन् ।


धेरै पढिएको