शिक्षक आन्दोलन रोकिएसंगै भोलीबाट विद्यालय खुल्दै

नवनारी
१८ वैशाख २०८२
245 Views

काठमाडौं । देशभरका शिक्षक र कर्मचारीहरूले आन्दोलन गरेको २९ दिनपछि सामुदायिक विद्यालय खुलेका छन् । हिजो राती नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएपछि शिक्षकहरू विद्यालयमा फर्किएका हुन् ।

शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा शिक्षकहरू थिए । सरकारले समयमा उनीहरुको माग पूरा नगर्दा र यही आन्दोलनका कारण यस वर्षको नयाँ शैक्षिक सत्रमै असर पुग्यो । भर्ना अभियान पनि प्रभावित बन्यो । पठनपाठन भएन । यसकारण अभिभावक र विद्यार्थीहरू चिन्तित थिए ।

हिजो बेलुका सहमति भएलगत्तै आन्दोलनको अगुवाइ गर्दै आएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले हिजोको दिनबाटै लागू हुने गरी आम शैक्षिक हड्ताल र सडक प्रदर्शन फिर्ता लिएको बताएका छन् ।
उनले भने, ‘आजबाटै रोकिएको भर्ना अभियान, पठनपाठन र परीक्षा थाल्न सबैमा अनुरोध छ ।’ यही सहमतिपछि आज बिहानैदेखि काठमाडौंको आन्दोलनमा आएका शिक्षकहरू आ–आफ्नो घर फर्किन थालेका छन् । कोही फर्किर्ने तयारीमा छन् । दैनिक ११ बजेदेखि ३ बजेसम्म तातिएको माइतीघर–नयाँ बानेश्वर सडक क्षेत्र आजदेखि सुनसान बनेको छ । आज अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा भए संगै भोलीबाट नियमित विद्यालय खुल्ने बताइएको छ ।


धेरै पढिएको