सौन्दर्यकर्मीहरूको संगठन देशभर फैलिदै गएकोमा खुशी व्यक्त

नवनारी
२१ वैशाख २०८२
560 Views

काठमाडौं । नेपाल ट्रेड युनियन महासङ्गमा आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन (नाबुन) की केन्द्रीय महासचिव सुजना जोशीले सौन्दर्यकर्मीहरुको संगठन देशभर फैलिदै गएकोप्रति खुशी व्यक्त गरेकी छन् । शुक्रबार (बैशाख १९ गते) काठमाडौंमा सम्पन्न राष्ट्रिय सौन्दर्यकर्मी युनियन, काठमाडौं महानगर कमिटीको चौथो अधिवेशनलाई सम्बोधन गर्दै उनले १७ वर्षअघि स्थापना गरेको संगठन देशभर मौलाउदै गएको बताइन् ।

महासचिव जोशीले १७ वर्षअघि सौन्दर्यकर्मीहरु मिना गुरुङ र पम्फा पहाडीले संगठन स्थापना गरेको बताइन् । उनले सौन्दर्यकर्मीहरुले रसायनिक पदार्थबाट उत्पादन हुने सौन्दर्यका सामग्रीहरुसँग खेल्नु पर्ने भएकाले स्वास्थ्य तथा व्यवसायमा सुरक्षाका विधि अपनाउन आग्रह समेत गरिन् । उनले सौन्दर्यकर्मीहरु योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुन ढिला गर्न नहुने बताइन् । सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा बृद्ध अवस्थामा आर्थिक सुरक्षा प्राप्त हुने उनको भनाइ छ ।

कार्यक्रममा जिफन्ट बाग्मती प्रदेशका उपसचिब गोपाल कार्कीले जिफन्ट कायाकल्पको लागि अभियान–२०८१, पेशागत मर्यादामा सङ्गठित हुनुपर्ने लगायतका विषयमा प्रकाश पारेका थिए । आर्थिक सचिब सुस्मिता गुरुङले दुई वर्षभर संगठनले गरेका गतिविधि बारेको प्रतिवेदन वाचन गरेर सुनाएका थिए ।

कार्यक्रममा संस्थापक सुजना जोशी र दाङ नगरपालिकाकी ईन्दिरा बिस्टलाई सम्मान गरेको थियो । कार्यक्रममा बाग्मती प्रदेश कमिटी सदस्य ईश्वरी थापा, ललितपुर महानगर कमिटीकी जयन्ती राना मगर, नाबुन प्रदेश सदस्य ईश्वरी क्षेत्री, तारकेश्वर नगरपालिकाकी ईन्दिरा रायमाझी, महालक्ष्मी नगरपालिकाकी पुनम थापा लगायतको उपस्थिति थियो । करुणा पुरीको अध्यक्षतामा सम्पन्न काठमाडौं महानगर कमिटी, राष्ट्रिय सौन्दर्यकर्मी युनियन (नाबुन) को चौथो अधिवेशनबाट देवी कोइरालाको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व समेत चयन गरिएको छ ।


धेरै पढिएको