जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

नवनारी
२९ वैशाख २०८२
363 Views

काठमाडौँ । शनिबार बिहान कालिकास्थानस्थित आरशालामा नमस्कारको सट्टा आपसमा अभिवादन चलिरहेको थियो, ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’ भन्दै । ‘तिमीलाई’को सट्टा कोही ‘हजुरलाई’, कोही ‘तँलाई’, कोही ‘मलाई’, कोही ‘उनलाई’ सम्बोधन गरिरहेका थिए । सन्दर्भ थियो, जीवनकुमार प्रसाईंले लेखेको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’को लोकार्पण ।

नेपालयले आफ्नै प्रांगण आरशाला, कालिकास्थानमा आयोजना गरेको दुई दिने पुस्तक मेलाको आरम्भ प्रसाईंको पुस्तक लोकार्पणबाट भएको थियो ।

आजका मानिसको भागदौड, आपाधापी, हस्याङफस्याङ, निराशा, एक्लोपन, उदासी धेरै देखेकाले आफूले नयाँ पुस्तक लेखेको लेखक प्रसाईंले बताए । ‘नाम मेरो जीवन, मेरो लेखन पनि जीवनकै वरिपरि घुमेको छ,’ लेखक प्रसाईंले भने, ‘जीवन वरदान हो, तर हामीले जीवनलाई नचाहिँदो तनाव बोकाएका छौँ ।’

सबतिर आर्टिफिसियल इन्टेलिजेन्स ९एआई०को चर्चा छ तर अब इमोसनल इन्टेलिजेन्स ९ईआई० पनि महत्वपूर्ण सवाल भएको बताउँदै लेखक प्रसाईंले भने, ‘भावनात्मक बुद्धिमताविना समूहमा कार्य गर्न, सामाजिक हुन गाह्रो हुन्छ ।’

लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन जिउने काइदा’ पाठकको अत्यधिक रोजाइको पुस्तक हो, जसको नवौं पुनःमुद्रण भर्खरै बजारमा आएको पब्लिकेसन नेपालयले जनाएको छ ।

वैज्ञानिक अनुसन्धाता प्रसाईंका ‘सधैँ तन्नेरी’, ‘वरिपरि नै सर्वोपरि’, ‘धेरैको धपेडी’ पुस्तक पनि नेपालयबाटै प्रकाशित छन् ।
हलमा उपस्थितमध्ये अनिता कोइरालालाई लेखकले पुस्तक उपहार दिएसँगै पुस्तक लोकार्पण गरिएको थियो । अनिता कोइराला साहित्यकार तथा समीक्षक हुन् ।

‘फुल टाइम राइटिङ गर्छु भन्नेहरुका लागि जीवनकुमार प्रसाईं जस्ता लेखक चुनौती र दृष्टान्त एकसाथ हुन्,’ नेपालयका सम्पादक विमल आचार्यले भने, ‘वैज्ञानिक सन्दर्भ र उद्धरण दिँदै अत्यन्त सजिलो र रसिलो सूक्तिमय भाषामा लेख्न सक्ने प्रसाईं राम्रो रचना, मीठो नेपाली भएका नेपाली लेखकमध्ये पर्नुहुन्छ ।’

२३१ पृष्ठको पुस्तकको मूल्य ५७५ रुपैयाँ रहेको छ । पुस्तक देशभरका पुस्तक पसल तथा थुप्रैडटकम बाट तथा विश्वभरका पाठकले अमेजनबाट खरिद गर्न सक्छन् ।


धेरै पढिएको