बिग मार्टले मनायो १६औँ वार्षिक उत्सव, मोबाइल एपको शुभारम्भ र नयाँ ब्राण्ड एम्बेसडरको घोषणा

नवनारी
२७ जेठ २०८२
306 Views

काठमाडौँ । नेपालको अग्रणी किराना खुद्रा चेन बिग मार्टले आफ्नो १६औँ वार्षिकोत्सवलाई एक विशेष कार्यक्रममार्फत भव्य रूपमा मनाएको छ । काठमाडौंको ठमेलस्थित आयोजित ‘बिग मार्ट गाला नाइट’ नामक कार्यक्रममा कम्पनीले नयाँ मोबाइल एपको आधिकारिक शुभारम्भ गर्दै लोकप्रिय सेलिब्रेटी जोडी आयुष्मान जोशी, प्रियंका कार्की र उनीहरूको छोरी आयंका कार्की जोशीलाई ब्राण्ड एम्बेसडरका रूपमा घोषणा गरेको छ ।

बिग मार्टको मोबाइल एप अब एन्ड्रोइडमा उपलब्ध छ भने चाँडै आईओएसमा पनि ल्याउने तयारी गरिएको छ । एपमा ‘क्लिक एन्ड कलेक्ट’, मूल्य तुलना, नजिकको स्टोर खोजी, बिलिङ हिस्ट्री हेर्नु, छुट र रिवार्ड पोइन्टहरूजस्ता उपयोगी सुविधाहरू समावेश गरिएको छ । एप डाउनलोड गर्ने ग्राहकहरूले आफ्नो पहिलो अर्डरमा विशेष छुट समेत पाउनेछन् ।
बिग मार्टका सीईओ तथा प्रबन्ध निर्देशक शश्वत ढकालले भने, “नेपालका हरेक छिमेकमा पुग्ने हाम्रो लक्ष्य हो । एपको शुभारम्भले त्यस यात्रामा नयाँ उचाइ थपेको छ ।”

महाप्रबन्धक अरुण बस्नेतले थपे, “यो एप केवल प्रविधि होइन, ग्राहकको सुविधा र अनुभव केन्द्रित सोचको प्रतिफल हो ।” आयुष्मान, प्रियंका र आयंका—नेपालको चहेता कलाकार परिवार—अब बिग मार्ट परिवारमा पनि सामेल भएका छन् । प्रियंका कार्कीले बिग मार्टसँगको आफ्नो लामो सम्बन्धको उल्लेख गर्दै एपमार्फत अर्डर गर्दा पाउने सुविधाको प्रशंसा गरिन् । आयुष्मान जोशीले भने, “बिग मार्ट हाम्रो छिमेकको हिस्सा जस्तै हो – सहज, भरपर्दो र पहुँचयोग्य ।”

१६ वर्षअघि एक स्टोरबाट सुरु भएको बिग मार्ट अहिले १२० भन्दा बढी स्टोरहरूमा विस्तार भइसकेको छ । कम्पनीले भर्खरै ‘मिनी बिग मार्ट’ अवधारणा सार्वजनिक गरेको छ, जसले काठमाडौं उपत्यकाबाट बाहिरका क्षेत्रमा समेत आफ्ना सेवा विस्तार गरिरहेको छ ।


धेरै पढिएको