हलमा अझै चलचित्र ‘अञ्जिला’, प्रदर्शनको एक सय दिन नजिक पुग्दा एक सय रूपैयाँमै देखाउने तयारी

नवनारी
२९ जेठ २०८२
315 Views

काठमाडौं । गएको फागुन २९ गते रिलिज फिल्म ‘अञ्जिला’ अझै हलमा प्रदर्शनरत छ । यो फिल्म लगातार प्रदर्शनको एक सय दिनको नजिक पुगेको छ । बुधबार ९१ औं दिनमा काठमाडौंको क्युएफएक्स सिनेमा चेनको सामाखुसीस्थित सिटी स्क्वायर मलमा यो फिल्म निरन्तर प्रदर्शनमा छ । बिहीबारका लागि उक्त हलमा ३ वटा शो प्रदान गरिएको छ ।

प्रदर्शनको सय दिन नजिक पुग्दै गर्दा १ सय रूपैयाँमा फिल्म देखाउने तयारी गरिएको छ । निर्माता प्रेमकुमार श्रेष्ठले क्युएफएक्स सिनेमाजले निरन्तर प्रदर्शनमा रहेको हलसहित देशभरका अन्य केही हलमा समेत १ सय रूपैयाँ दरमा फिल्म देखाउने तयारी गरेको बताए ।

‘दर्शक स्वतःस्फूर्त रूपमा निरन्तर आइरहनुभएको छ । तर, सय दिन पुग्न लागेको समयमा क्युएफएक्सले सहुलियतमा फिल्म देखाउने भनेको छ । यसमा हामीले पनि समर्थन गरेका छौं,’ निर्माता श्रेष्ठले भने, ‘सय दिनसम्म ऐतिहासिक रिलिज भइरहनु नेपाली फिल्मको लागि सुखद कुरा रहेको कारण यो फिल्म हेर्न चाहेका सबै दर्शकले हेर्न पाउन् भन्ने उद्देश्य लिएका छौं ।’

मिलन चाम्स निर्देशित ‘अञ्जिला’ वर्ष २०८१ को व्यापारिक आँकडामा उत्कृष्ट पाँच भित्र परिसकेको छ । हालसम्म यस फिल्मले १२ करोड माथिको व्यापार गरिसकेको निर्माताले बताएका छन् । फिल्म राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । यसमा एन्जिला आफैंले प्रमुख अभिनय गरेकी छन् भने दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ ।


धेरै पढिएको