भोटेकोशी बाढी विश्वकै लागि चेतावनी : प्रधानमन्त्री शाह

नवनारी
९ असोज २०८३
70 Views

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढी नेपालका लागि मात्र नभई समग्र विश्वकै लागि गम्भीर चेतावनी भएको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हिमाली क्षेत्रमा बढ्दो जलवायु जोखिम र त्यसबाट उत्पन्न विपद्प्रति विश्व समुदायको ध्यानाकर्षण गराएका हुन्।

“एक साताअघि विश्वले नेपालको हिमाली समुदायमा तीव्र गतिमा आएको बाढीको भयावह दृश्य देख्यो, जसलाई धेरैले ‘हिमालयन सुनामी’ भनेका छन्,” उनले भने, “भोटेकोशी–त्रिशूली विपद् स्थानीय त्रासदी मात्रै थिएन, यो विश्वकै लागि एउटा चेतावनी थियो।”

प्रधानमन्त्री शाहले विश्व समुदायले उक्त चेतावनीलाई साँच्चिकै सुनेको छ कि छैन भन्ने प्रश्नसमेत गरे।

“म आज तपाईंहरूसँग सोध्न चाहन्छु– के हामीले साँच्चै त्यो चेतावनी सुनेका छौँ ?” उनले महासभामा प्रश्न गरे।

 

उनले करिब तीन वर्षअघि संयुक्त राष्ट्रसङ्घका महासचिवले नेपालको सगरमाथा क्षेत्रमा पुगेर हिमाल तीव्र गतिमा पग्लिँदै गएको र त्यसले विश्वलाई जलवायु परिवर्तनको गम्भीर जोखिमबारे चेतावनी दिइरहेको उल्लेख गरेको प्रसङ्ग पनि स्मरण गरे।

प्रधानमन्त्री शाहका अनुसार त्यसबेला हिमालयबाट आएको चेतावनी नेपालका समुदाय र विश्वभरका वैज्ञानिकले गम्भीर रूपमा लिए पनि विश्वका राजनीतिक नेतृत्वले त्यसलाई आवश्यक नीतिगत तथा व्यावहारिक कदममा रूपान्तरण गर्न सकेनन्।

“तीन वर्षअघि महासचिवले हाम्रो सगरमाथा क्षेत्रमा उभिएर नजिकिँदै गरेको जलवायु विपत्तिको भयावह अवस्थाबारे मानवतालाई चेतावनी दिनुभएको थियो। विश्वको छानोबाट आएको त्यो चित्कार बुलन्द रूपमा सुनिएन,” उनले भने।

“हामीले नेपालमा सुन्यौँ, हाम्रो समुदायले सुन्यो। विश्वभरका वैज्ञानिकले सुने। उनीहरूले प्रमाणसहित त्यसलाई दोहोर्‍याइरहे। तर हामी विश्वका राजनीतिक नेतृत्वले त्यो चेतावनीलाई कार्यान्वयनमा बदल्न बेवास्ता गर्‍यौँ।”

उनले नेपालले भोगेको भोटेकोशी बाढीलाई जलवायु परिवर्तनबाट सिर्जित बढ्दो जोखिमको एउटा गम्भीर उदाहरणका रूपमा प्रस्तुत गरे। तीव्र गतिमा तातिँदै गएको पृथ्वी र त्यसको असरले संवेदनशील हिमालयी पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायहरू जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी प्रभावित भइरहे पनि यसको मूल कारण सिर्जना गर्न उनीहरूको भूमिका न्यून रहेकोतर्फ विश्व समुदायको ध्यानाकर्षण गराए।

उनको सम्बोधनको मूल सन्देश स्पष्ट थियो—नेपालमा देखिएको हिमाली विपद् नेपालभित्रको मात्र समस्या होइन। हिमालयमा देखिएका परिवर्तनले जलवायु संकटको विश्वव्यापी स्वरूपलाई संकेत गरिरहेका छन्। त्यसैले यस्ता चेतावनीलाई समयमै सुन्ने र त्यसअनुसार प्रभावकारी कदम चाल्ने जिम्मेवारी विश्व समुदायको साझा हो।


धेरै पढिएको