यूएईलाई हराउँदै नेपाल टि–२० विश्वकपको ग्लोबल छनोटमा

नवनारी
५ जेठ २०८२
363 Views

काठमाडौं । नेपाल आईसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएको छ । थाइल्याण्डको बैंककमा जारी एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई हराउँदै नेपाल एक खेल अगावै ग्लोबल क्वालिफायरमा छनोट भएको हो ।

बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्दै यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि कप्तान इन्दू वर्माले २८ बलमा सर्वाधिक ३० रन बनाइन् । भने रुविना क्षेत्रीले १८ बलमा २३ रन जोडिन् भने सम्झना खड्काले २७ बलमा २१ रन जोडेको थिइन् । कप्तान वर्मा प्लेएर अफ द म्याच समेत भइन् । त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो ।

यूएईका लागि इसा रोहित ओजाले सर्वाधिक ३९ रन बनाइन् । यस्तै त्रीथा सतिशले २१, हीना हरिस होट्चन्दानीले २० र लाभण्या केनीले १२ रन बनाइन् । नेपालका लागि मनिषा उपाध्याले सर्वाधिक चार विकेट लिइन् । चार ओभरमा २० रन खर्चिँदै उनले चार विकेट लिएकी हुन् । यस्तै कविता कुँवर दुई र राजमती ऐरीले एक विकेट लिए ।

जित्नै पर्ने दबाबपूर्ण खेलमा नेपालले शानदार पाँच विकेटको जित निकाल्यो । अब बाँकी थाइल्याण्डसँगको खेल हारे पनि नेपाललाई कुनै असर नपर्ने भएको छ। यूएई भने सुपर थ्रीमा दुबै खेल हार्दै प्रतियोगिताबाटै बाहिरिएको छ ।
एसिया छनोटको ‘सुपर थ्री’मा आइतबार युएईलाई ५४ रनले पराजित गर्दै थाइल्यान्डले ग्लोबल छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।


धेरै पढिएको