समाजसेवा प्रति नयाँ पुस्ताको उत्साह एकदमै छ, हामीले थप हाैसला दिइरहेका छौँ
नेपालमा विभिन्न क्लब तथा अन्य संघ संस्था मार्फत विभिन्न क्षेत्रका मानिसहरु समाजसेवामा आवद्ध छन् । समाजमा रहेका विभिन्न समस्याहरुको हल गर्ने, विपद् व्यवस्थापनमा साथ दिने, समाजलाई जागरुक गर्ने, सचेतना गर्नेमा समाजसेवीहरुको भुमिका एकदमै महत्वपूर्ण हुन्छ । अझ पछिल्लो समय त्यस कार्यमा नयाँ युवा पुस्ताहरु दिन प्रतिदिन जोडिदै गएका छन् । समाजसेवालाई लिएर नयाँ युवापुस्तामा एकदमै उत्साह देखिएको इनर ह्विल क्लब कीर्तिपुरकी अध्यक्ष मिरा शाह बताउँछिन् । विभिन्न क्लब तथा संघ संस्थाहरुमा आवद्ध हुँदै सिक्दै समाजलाई जागरुक गर्ने बिषयमा युवापुस्तामा एकदमै उत्साह रहेको र आफुहरुले पनि त्यसलाई थप हाैसला प्रदान गरीरहेको उनको भनाई छ । शाह लामो समय देखि विभिन्न क्लबहरु मार्फत समाजसेवामा लागिरहेकी छन् । उनको यो यात्रा, अनुभव, वर्तमान अवस्था लगायतका बिषयहरु समेटेर नवनारीका लागि वसन्त भण्डारीले गरेको कुराकानी ।
इनर ह्विल क्लब के हो र अहिले के गर्दैछ ?
सामान्यतया इनर ह्विल क्लब इन्टरनेस्नल वमुन्स अर्गनाइजेसन सोसियल वर्क सामाजिक सेवा गर्ने महिलाहरुको ठूलो छाता हो । यसले अन्य क्लबहरु जस्तै समाजसेवा गर्छ । यसमा निस्वार्थ भावले काम गरिन्छ हामीलाई कतैबाट पनि फण्ड आउँदैन् । हामी आफ्नै सदस्यहरुले फण्ड उठाएर, हामी संग पैसा रहन्छ त्यहि पैसा आफ्नो खल्तीबाट समाजसेवा गछौँ । विशेष गरी वमुन्स हेल्थलाई फोकस गरेको छौँ । कतिपय ठाउँमा शिक्षाको पहुँबाट टाढा रहेका बालबालिकालाई छात्रवृति प्रदान गर्ने, बर्न भिक्टिम, क्यान्सर सर्भाइबल भएको बच्चाहरु तिनीहरुको सेवा गरिरहेका छौँ । लैङगिक महिला हिंसा विरुद्धका अभियान, फलोसिप कार्यक्रम, गरिब तथा असाय परिवारलाई लुगा तथा खानेकुरा वितरण गर्ने, विपद् न्यूनिकरणमा राज्यलाई सहयोग गर्ने जस्ता कामहरु गरीरहेका छौँ ।
अहिले सम्म मुख्य गरी के काम गर्नुभयो ?
अहिले सम्म हामीले २८ देखि ३० वटा सम्म प्रोजेक्टहरु गरिसकेका छौँ । हामीले बर्न भिक्टिमलाई डोनेसन दियौँ । क्यान्सर सर्भाइबललाई, पाठेघरको क्यान्सर पीडितलाई डोनेसन दियौँ । त्यसपछि हामीले स्पोर्ट मिट गर्यौँ । इनर ह्विल संगै अन्य सबै क्लबको सहभागितामा १ सय ५० भन्दा बढिले उक्त स्पोर्ट मिटबाट लाभ लिएका थिए । हामीले मेघा हेल्थक्याम्प गरेका छौँ । अन्य फेलोसिप, दशैँको फण्ड, हामीले बाढि पीडितहरुलाई पनि सहयोग गर्यौँ । गाउँ गाउँमा गएर हामीले लुगा, किताब कपी हामीले वितरण गर्यौँ ।
बाढि पीडित, भूकम्प पीडितहरुको लागि हामीले यस अघि पनि विभिन्न कामहरु गरेका थियौँ । खाद्यन्न, लुगाहरु वितरण गर्दै आएका छौँ । वर्षायाम मात्रै नभएर जाडोयाममा पनि सेवा गरीरहेका छौँ । कतिपय मानिसहरु बाहिरबाट काठमाडौँ आउनुहुन्छ उहाँहरुलाई आवश्यकता अनुसार सेवा गरीरहेका छौँ । जिविको पार्जनको लागि तालिम दिने पर्यास पनि गरेका थियौँ । अन्य क्लबहरु जस्तैः लाइन्स क्बल, रोटरी क्लब अन्य क्लब संग समन्वय गरीरहेका छौँ ।
विशेष गरी कीर्तिपुर क्षेत्रका महिला तथा बालबालिकाको अवस्था कस्तो पाउनुभयो ?
काठमाडौँ उपत्यकामा महिला तथा बालबालिकाको अवस्था ठिकै छ । स्वास्थयको पहुँच पनि एकदमै सहज छ । मानिसहरु पहिलाको तुलनामा सचेत पनि भइरहेका छन् । कतिपय मानिसहरुलाई काठमाडौँमै भएपनि कतिपय कुराहरुको बारेमा जानकारी नै पाउँदैनन् । चेकजाँच गर्ने, औषधिका कुराहरुको बारेमा जानकारी नै छैन् । अझै पनि महिला स्वास्थ्यको कुरा गर्दा खेरी खुलेर कुरा गर्न नचाहेको अवस्था छ, त्यसले गर्दा खेरी रोग बल्जिदै गएर एकदमै गाह्रो अवस्थामा पुगेको पनि हामीले देखेका छौँ । म एउटा पोषण विज्ञ पनि भएको उनीहरुको शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै चुनौतीहरु छन् ।
सरकारी क्षेत्र संग कसरी समन्वय गरीराख्नु भएको छ ?
सरकारी क्षेत्र संग धेरै कुरामा त समन्वय र सहकार्य भएको छैन् । त्यस्तो सहकार्यको अवसरहरु पनि पाएको छैनौँ । म पनि एउटा सामुदायीक संस्थामा काम गर्ने भए त्यहाँको सेवा एकदमै राम्रो छ, कीर्तिपुरबासीले एकदमै धेरै सहयोग पाइराखेको अवस्था छ । अहिले पनि मानिसलाई बुझाउनको लागि गाह्रो नै छ । समुदायमा बुझाउन गाह्रो छ । तर सरकारले जुन किसिमले सेवा सुविधा दिइराखेको छ त्यसले धेरै नै फाइदा गरेको छ । सरकार संग धेरै कुरामा समन्वय सहकार्य नभए पनि हामीले सरकारलाई विभिन्न कार्यहरु मार्फत सहयोग गरीरहेका छौँ ।

स्थानीयमा केहि कुरा सिक्ने उत्साह कस्तो पाउनुभयो ?
सिक्ने उत्साह एकदमै छ । धेरै सिपमुलक तालिमहरु पाइराखेको अवस्था छ । सिकेको कुराहरु कार्यान्वयनमा ल्याउनको लागि पनि उहाँहरु एकदमै सचेत हुनुहुन्छ त्यसमा हामीले पनि सचेत गराइराखेका छौँ । हामीले मेघा हेल्थ क्याम्प गर्यौँ जहाँ ७, ८ जना चिकित्सकलाई ल्याएर सेवा दिऔँ, औषधी वितरण गर्यौँ । त्यसपछि म पनि पोषण विज्ञको हिसाबले अन्य क्लबहरु संगको समन्वयमा सचेतनामुलक कार्यक्रम गर्यौँ । काठमाडौँमा मात्रै होइन धादिङमा पनि गएर हामीले चेपाङ बस्तीमा जसलाई लुगा, किताब जन्य सामाग्री हामीले वितरण गर्यौँ । काठमाडौँमा बसेर पनि हामीले बाहिर धेरै ठाउँमा सुविधाहरु आफ्नो क्षमता अनुुसार गरीरहेका छौँ ।
जनतामा गएर काम गर्न कति सहज छ ?
एकदमै चुनौतीपूर्ण छ । पहिला त केहि गर्नको लागि अनुमति लिनुपर्यो, समन्वय गर्नुपर्यो । कहिलेकाँही अपरझट काम गर्नुपर्ने हुन्छ जुन सबै क्लबमा खबर गरेको हुँदैनौँ । त्यसले गर्दा धेरै कुरा मनमुटाप पनि हुन सक्छ । सबैलाई बुझाउन, संग लिएर बढ्न त्यो वातावरण बनाउन एकदमै कमि छ । हामी समाजसेवीको रुपमा काम गरीरहका छौँ । स्वास्थ्य सेवा सुविधाको हिसाबले बालबालिकालाई पोषण, आफ्नो क्षेत्र फराकिलो बनाइरहेका छौँ । बालबालिकालाई भुलाउनको लागि मोबाईल फोन दिने गरिन्छ हामी आफ्नो समय नदिएर फोन हातमा थमाईदिने गर्छौँ । उनीहरुको खेल्ने, पढ्ने, खाने सम्पूर्ण समय छुट्याउनुपर्छ । बालबालिकामा प्रविधि कम प्रयोग गर्यौँ । त्यसमा विद्यालयको भूमिका पनि एकदमै जरुरी छ ।

समाजसेवालाई लिएर नयाँ पुस्तामा कत्तिको उत्साह पाउनुभयो ?
नयाँ पुस्तामा यसलाई लिएर एकदमै उत्साह छ । हाम्रो क्लबमा पनि नयाँ धेरै जोडिनुभएको छ । पढ्दै गरेका विद्यार्थी, अन्य क्लबका साथीभाईहरु पनि जोडिनु भएको छ । हो समाजसेवामा नयाँ पुस्ताको एकदमै उत्साह छ । उदाहरणका लागि मेरो छोरी इन्टर्याक्ट क्लबको अध्यक्ष हो, उ सानै छ तर धरै राम्रो काम उनीहरुले गरिरहेका छन् । त्यस्तै अन्य थुप्रै नयाँ युवाहरु हुनुहुन्छ जो सानै देखि समाजसेवामा लाग्नुभएको छ । यसले हामीलाई समेत उर्जा थप्छ भने हामीले पनि उनीहरुलाई हैसला पनि दिन्छौँ ।
विदेश जाने युवाहरुलाई के भन्नुहुन्छ ?
अहिले ठूलो संख्यामा युवाशक्ति विदेश भइरहेको छ, यो एकदमै विडम्वना हो । आफ्नो देशलाई छोड्न त कोहि पनि चाँहादैन तर बाध्यता छ । उहाँहरुको शिक्षा अनुसारको रोजगारी छैन । सरकारले सिपमुलक तालिम दिएर रोजगारीका अवसरहरु सिृजना गर्न सकेको छैन । यदि यो भएको अवस्थामा केहि हद सम्म भएपनि स्वदेशमै बस्ने वातावरण सृजना हुने थियो ।
स्वदेशमा रोजगारीको अवसर कत्तिको देख्नुहुन्छ ?
देशमै पनि अवसरहरु धेरै छन् । विदेशबाट आएकाहरुले त्यो अवसरलाई सहि सदुपयोग गर्ने पर्यास पनी गरीरहेका छन् । एउटा कुरा उनीहरुमा पनि यहि देशमै केहि गर्छु भन्ने रुची भएको अवस्थामा अवसरहरु पक्कै पनि आउँछन् । सामान्य कामलाई पनि नयाँ र फरक तरिकाले गरेको अवस्थामा पक्कै पनि सफलता पाउन सकिन्छ । तर आर्थिक रुपमा सरकारले सहज व्यवस्था गरिदिनुपर्छ । जस्तैः ऋणको व्यवस्था तथा अन्य आर्थिक सुरक्षाको लागि सरकारले ग्यारण्टी गर्नुपर्छ । सरकारी क्षेत्रबाट अभिभावकिय जिम्मेवारी अझै बढाउन जरुरी छ ।

आगामी दिनमा के कस्ता योजना छन् ?
हामीले चालु आर्थिक वर्षको योजना भन्दा बढि नै काम गरेका छौँ । हरेक क्षेत्रमा सचेतना फैलाएका छौँ । अझै पनि काम गर्न बाँकी छ । अन्य थुप्रै अभ्यासहरु हामीले गर्न बाँकी नै छ । इनर ह्विल क्लब संगै अन्य क्लबहरु संगको समन्वय र सहकार्यमा हामीले विभिन्न कामहरु योजनावद्ध रुपमा पनि अघि बढाइरहेका छौँ । समाजमा देखाई र भोगाई एकदमै फरक छ । जति चुनौती पार गर्छौँ त्यति पर्फेक्ट भएर निश्किन्छौँ । आगामि दिनमा यी नै कामलाई थप प्रभावकारी रुपमा उठाउने छौँ ।

मिरा शाह, अध्यक्ष, इनर ह्विल क्लब अफ कीर्तिपुर २०२४/०२५, शाह कीर्तिपुर अस्पतालमा पोषण विज्ञको रुपमा समेत कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस