प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटः कर्णालीमाथि सुदूरपश्चिम १० विकेटले विजयी

नवनारी
४ माघ २०८१
162 Views

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी- २० क्रिकेटमा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि सहज जित निकालेको छ । शुक्रबार धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको हो । वर्षाका कारण २० ओभरको खेललाई ५ ओभरमा झारिएको थियो ।

कर्णाली प्रदेशले दिएको २१ रनको लक्ष्य सुदूरपश्चिमले १.३ ओभरमा बिना विकेटको क्षति भेट्टाएको हो । सुदूरपश्चिमकी कविता कुँवर १४ र मनिषा बोहरा ५ रनमा अविजित रहे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ५ ओभरमा ७ विकेटको क्षतिमा २० रनको योगफल तयार पारेको थियो ।

कर्णालीका लागि श्रुति बुढाले सर्वाधिक ८ र रमा बुढाथोकीले ६ रनको योगदान दिए । अञ्जु गुरुङले २ रन जोड्दा विमला बुढाथोकी १ रनमा पभिलियन फर्किएकी थिइन् । कर्णालीका सोभिका शाही, दीक्षा पुरी, गौरी बोहरा र कप्तान विना थापा खाता नै नखोलेर पभिलियन फर्किएका थिए ।

सुदूरपश्चिम प्रदेशका लागि आशिका महराले ३, कविता कुँवरले २ र रितु कनौजियाले १ विकेट लिएका थिए । जितसँगै समूह एु को शीर्ष स्थानमा उक्लिएको सुदूरपश्चिम प्रदेशको ३ खेलबाट ६ अंक भएको छ । समान ३ खेलबाट ५ अंक जोडेको सशस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो स्थानमा छ ।


धेरै पढिएको