महिला पिएम कपः बागमती र आर्मी सुपर फोरमा
काठमाडौँ । प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश सुपर ४ मा पुगेको छ । आज सम्पन्न दोस्रो खेलमा मधेश प्रदेशलाई ७ विकेटले पराजित गर्दै समूह बी को उपविजेताका रूपमा बागमती सुपर ४ मा पुगेको हो । जितका लागि पाएको ४१ रनको लक्ष्य बागमतीले ६ ओभर ४ बलमा ३ विकेटको क्षतिमा पूरा गर्यो । जसमा यसु पाण्डेले सर्वाधिक १९ रन जोडिन् । बलिङमा मधेशका लागि रोजी कडारीले २ विकेट झारिन् ।
यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मधेश १५ ओभर ५ बलमा ४० रनमा अलआउट भयो । मधेशका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीका लागि प्लेयर अफ द म्याचसमेत भएकी कप्तान कञ्चन श्रेष्ठले ४ विकेट हात पारिन् ।
यसअघि आजै भएको पहिलो खेलमा कोशी प्रदेशलाई ९ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब समूह विजेताको रूपमा सुपर ४ मा पुगिसकेको छ । समूह बी मा रहेको कोशी र मधेश भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
उता समूह ए बाट एपिएफ विजेता र सुदूरपश्चिम उपविजेता भएर सुपर ४ मा सुरक्षित भइसकेका छन् । माघ १ गते शुरू भएको प्रतियोगितामा माघ १२ गते सकिनेछ । प्रतियोगिताको उपाधि जित्नेले नगद ५ लाख रुपैयाँ, दोस्रो हुनेले नगद ३ लाख रुपैयाँ, प्लेयर अफ द सिरिजलाई नगद ५० हजार रुपैयाँ, बेस्ट ब्याटर र बेस्ट बलरलाई जनही नगद २५र२५ हजार रुपैयाँ पुरस्कार दिइनेछ ।

प्रतिक्रिया दिनुहोस