सुदूरपश्चिमलाई सहजै हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

नवनारी
१२ माघ २०८१
228 Views

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जितेको छ ।  
धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको ६८ रनको सामान्य लक्ष्य एपीएफले ४३ बल बाँकी छँदै एक विकेट गुमाएर पूरा गरेको हो । 
उसका लागि ममता चौधरीले सर्वाधिक ४३ र इन्दु बर्माले १८ रनको योगदान गरिन् । यसअघि प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेश ११ बल बाँकी छँदै ६७ रनमा अलआउट भएको थियो । 
उसका लागि मनिषा बोहराले आउट नभइ सर्वाधिक १८ रन बनाइन् भने कप्तान बिन्दु रावलले १७ रनको योगदान गरिन् । अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । तीन खेलाडी शून्य र तीन खेलाडी एक रनमा आउट भएका थिए । 
सुदूरपश्चिमलाई सस्तैमा समेट्न एपीएफकी कविता जोशीले ३, सबनम राई र इन्दु बर्माले समान २/२ विकेट लिँदा करुणा भण्डारीले एक विकेट खसालिन् ।  प्रतियोगिताको उपाधि विजेता एपीएफले नगद ५ लाख रुपैयाँ र उपविजेता सुदूरपश्चिम प्रदेशले ३ लाख पुरस्कार पाएका छन् ।


धेरै पढिएको