त्रिकोणात्मक सिरिजमा नेपाल जितबिहिन, थाइल्याण्डले जित्याे सिरिज

नवनारी
२५ माघ २०८१
209 Views

काठमाडौँ । शुक्रवार सम्पन्न त्रिकोणात्मक टि–२० आई सिरिजमा नेपालले लगातार छैटौँ हार बेहोरेको छ । जसमा आज भएको आफ्नो अन्तिम खेलमा थाइल्याण्ड संग ७ विकेटले पराजित भएको छ । याे संगै महिला त्रिकोणात्मक टि–२० आई सिरिजको उपाधी थाइल्याण्डले जितेको छ । सिरिजमा खेलेको ६ मध्ये ५ खेलमा जित हात पार्दै १० अंकका साथ थाइल्याण्ड च्याम्पियन हुँदा नेपालले सिरिजमा कुनै अंक जोड्न सकेन ।

नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । थाइल्याण्डको जितमा कप्तान नारुइमोल चाइवाईले नट आउट रहँदै सर्वाधिक २७ रन जोडिन् । नान्नापत खोन्चरोएन्कले ३२ बलमा २३ रन जोडेकी थिए । त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोड्यो ।

नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । उनले २९ बलमा १ चौका प्रहार गरिन् । कविता जोशीले १२ बलमा १ चौका र १ छक्काको सहयोगमा १४ रन बनाइन् । कप्तान इन्दु बर्माले १० रनमा आउट हुँदा राजमती ऐरी ११ रनमा नट आउट रहिन् । थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ३, चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान १ विकेट लिइन् । सिरिजमा नेपाल र थाइल्याण्डको अलावा नेदरल्याण्ड्सको पनि सहभागीता रहेको थियो । नेदरल्याण्ड्स ८ अंकका साथ दोस्रो भयो ।


धेरै पढिएको