युगाण्डा जाने महिला क्रिकेट टोलीको बिदाइ
काठमाडौं । युगान्डा हुने उमन्स डे कप टि ट्वान्टी क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र प्रवक्ता छुम्पी लामाले टोलीलाई बुधवार बिदाइ गरेको छन् ।
सचिव खड्काले विश्व कप छनोट अगाडि तयारीको रुपमा नेपाली महिला टोलीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय एक्सपोजर बढी भन्दा बढी उपलब्ध गराउने योजना अनुरुप यो सिरज रहेको बताए ।
उनले नेपाली महिला टोलीलाई अहिले मुल्याङ्कन गर्न थालिएको र टोली अहिले पुर्ननिर्माणको चरणमा रहेको पनि बताए । उनले टोलीलाई जितको लागि शुभकामना दिए ।
प्रमुख प्रशिक्षक मनोज कटुवालले छोटो समयको प्रशिक्षणमा फिटनेस र फिल्डिङमा नै केन्द्रीत भएको बताए । उनले क्यानले उपलब्ध गराएको ट्रेनरले पनि टोलीलाई धेरै सहयोग पुगेको जानकारी दिए ।
उनले यसअघि टियु मैदानमा त्रिकोणात्मक सिरजमा ६ खेलमा हारेपनि यो पटक जित्नेमा टोली विश्वस्त रहेको बताए । कटुवालले अनुभवी र युवाको समिश्रणले यो पटक टोली मजबुत रहेको पनि बताए ।
कप्तान इन्दु बर्माले राम्रो क्रिकेट खेलेर फर्किने बताइन् ।
यो पटक टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।
फागुन २४ देखि चैत ३ गतेसम्म हुने (मार्च ८ देखि १६ सम्म ) उमन्स डे कपमा नेपाल सहित आयोजक युगान्डा, नामिबिया र हङकङको सहभागिता रहनेछ ।
यी चार राष्ट्रले डबल राउन्ड रोबिनको आधारमा खेल्नेछन् । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले पहिलो खेल शनिवार नामिबियासँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस