वुमन्स कप टि २० सिरिजमा नेपालले हङकङलाई ६ विकेटले हरायो
काठमाडौं । युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ ।
लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो ।हङकङले दिएको १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ रन जोडिन् । सम्झनाले ४३ बलको सामना गर्दै ३ चौका प्रहार गरिन् ।
अर्की ओपनर तथा कप्तान इन्दुले ३२ बलमा १ चौकाको सहयोगमा १८ रन जोडिन् । रोमा थापा ४ रनमा आउट हँदा पुजा महतो २० रनमा नट आउट रहिन् । हङकङका लागि इमा लाइ र महेनदिप कौरले समान १ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४ रनको योगफल तयार गरेको हो । हङकङका लागि साञ्जिन शाहजादले सर्वाधिक ५४ रन जोडिन् । उनले ४७ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरेकी थिइन् । चाङ का योगं १६ तथा यासमिन दासवानी १४ रनमा आउट भईन् ।
नेपालका लागि राजमती ऐरीले ३, कप्तान इन्दु बर्माले २ तथा पुजा महतो र इश्वरी विष्टले समान १ विकेट लिए ।
सिरिजको लिग चरणको खेल समाप्त गर्दा नेपालले ६ मध्ये २ खेल जितेको छ । नेपालले आइतवार तेस्रो स्थानका लागि हुने प्लेअफ खेल्नेछ । आजै हुने युगाण्डा र नामिबियाबीचको खेल पछि फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।
यस खेलमा नेपाललाई पराजित गरेको भए हङकङले फाइनलमा स्थान पक्का गर्ने थियो । यसै सिरिजमा यसअघिको भेटमा हङकङले नेपाललाई २ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस