यू–१९ विश्वकप खेल्न नेपालले निर्णायक खेल अफगानिस्तानसंग खेल्ने

नवनारी
३ वैशाख २०८२
238 Views

काठमाडौं । आइसिसी यू–१९ विश्वकप २०२६ अन्तर्गत एसिया छनोटमा नेपालले सुरूवाती तीन खेल जितेको छ । पहिलो खेलमा युएईलाई ५ रन र दोस्रो खेलमा ओमानलाई ८ विकेटले हराएको नेपालले बुधबार तल्लो मुलपानी मैदानमा भएको खेलमा हङकङलाई ९ विकेटले पराजित गरेको छ ।

लगातार तीन जित निकालेको नेपालले अब शनिबार अफगानिस्तानसँग तल्लो मुलपानी मैदानमा निर्णायक खेल खेल्नेछ । बुधबार युएईसँग खेलिरहेको अफगानिस्तानले यसअघिका दुई खेलमा लगातार जित निकालेको छ । त्यसैले शनिबार हुने नेपालविरूद्धको खेल अफगानिस्तानका लागि निर्णायक नै हुनेछ ।

एसिया छनोटअघि नेपाल र अफगानिस्तान तीन खेलको एकदिवसीय सिरिज खेलेका थिए । नेपाल र अफागनिस्तानबीचको निर्णायक खेल तल्लो मुलपानी मैदानमा शनिबार हुनेछ । यो खेल जित्न सके नेपालले नवौं पटक युवा विश्वकप खेल्नेछ । सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू–१९ विश्वकपमा एसियाबाट एक टोलीमा मात्र छनोट हुने व्यवस्था छ ।

नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो । त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो । सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ ।


धेरै पढिएको