भोली देखि सुरु हुँदै यू–१९ महिला विश्वकपः कस्तो रहला नेपालको प्रदर्शन ?

नवनारी
४ माघ २०८१
215 Views

काठमाडौं । दोस्रो संस्करणको आईसीसी अन्डर–१९ टी–२० महिला विश्वकप शनिबार (भोली) देखि मलेसियामा सुरू हुँदै छ । एसिया छनोटको विजेताका रुपमा विश्वकपमा छनोट नेपालले पनि अन्तिम तयारी गरीसकेको छ । सुपर सिक्समा पुग्ने लक्ष्य राखेको नेपाल १६ देशका राइजिङ स्टारहरु संग खेल्दैछ ।

महेश रिजालको प्रशिक्षण र पूजा महतोको कप्तानीमा मलेसियामा रहेको नेपालले सुपर सिक्समा स्थान बनाउने लक्ष्य राखेको छ । प्रतियोगितामा चार मैदानमा ४१ खेल हुनछन् । विश्वकप छनोटदेखिनै निकै व्यस्त तालिका रहेको महिला अन्डर–१९ टोलीले त्यसपछि एसिया कप खेलेको थियो । एसिया कपमा पाकिस्तानलाई पराजित गर्दै सुपर फोरसम्म पुगेको नेपालका केही खेल वर्षाका कारण रद्द भएका थिए । त्यसपछि चितवन र काठमाडौंमा ३ महिना प्रशिक्षण गरेको थियो ।
विश्वकपमा सहभागी १६ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ए मा भारत, मलेसिया श्रीलंका र वेस्ट इन्डिज छन् । समूह बी मा इङ्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन् । यस्तै समूह सी मा न्युजिल्याण्ड, नाइजेरिया, सामोआ र दक्षिण अफ्रिका छन् ।

नेपाल सम्मिलित समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड छन् । भारत पहिलो संस्करणको विजेता र मलेसिया आयोजकको रुपमा विश्वकपमा छनोट भएका हुन् । प्रत्येक समूहका शीर्ष तीन टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् । सुपर सिक्समा पुग्ने १२ टोलीलाई २ पोलमा विभाजन गरिएको छ । नेपालले बंगलादेशविरुद्ध माघ ५ गते खेल्दै विश्वकपमा डेब्यू गर्ने छ । दोस्रो खेलमा माघ ७ गते स्कटल्यान्ड र ९ गते अस्ट्रेलियाविरुद्ध खेल्ने तालिका रहेको छ ।


धेरै पढिएको