यू-१९ विश्व कप: मलेसियालाई नेपालले ७ विकेटले हरायो, कप्तान पुजाको अलराउण्ड प्रदर्शन
काठमाडौं । आइसिसी यू-१९ महिला विश्व कपमा नेपालले आफ्नो अन्तिम खेलमा मलेसियालाई ७ विकेटले हराएको छ । शुक्रवार भएको खेलमा मलेसियालाई ७ विकेटले हराउँदै नेपालले आइसिसी यू-१९ महिला विश्व कपमा पहिलो जित हासिल गरेको हो ।
मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान पुजाले नट आउट रहदै सर्वाधिक २३ रन जोडिन् । मलेसियाका लागि मार्साले ३ विकेट लिईन् ।
नेपाललाई जिताउन कप्तान पुजा महतोले फेरि एकपटक प्रेरणादायी प्रदर्शन गरिन् ।
यस अघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अल आउट हुदै ४५ रन मात्र बनाएको थियो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।
नेपालका लागि कप्तान पुजा महतोले ४, रचना चौधरीले ३ तथा रिया शर्मा र सिमाना केसीले समान १ विकेट लिए । नेपाल र मलेसिया आफ्नो समूहको सबै खेलमा पराजित भएका थिए । यस सँगै नेपालले डेब्यु विश्व कप जितका साथ समाप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस