बागमती प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकालाई

नवनारी
१२ जेठ २०८२
312 Views

भक्तपुर । बागमती प्रदेशका १३ जिल्लाका १५ स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको प्रदेशस्तरीय आमन्त्रण मेयर कप कराँते प्रतियोगिता–२०८१ मा सूर्यविनायक नगरपालिकाले पाँच स्वर्ण र एक रजत पदक जित्दै समग्र उपाधि हात पार्न सफल भएको छ । प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकाले तीन स्वर्ण, एक रजत र तीन कांस्य सहित सात पदक जित्दै दोस्रो स्थान हासिल गर्‍यो भने काठमाडौँ महानगरपालिकाले दुई स्वर्ण, एक रजत र पाँच कांस्य सहित तेस्रो स्थानमा चित्त बुझायो ।

पुरुष तर्फ गोदावरी नगरपालिकाका राज व्लोन र महिला तर्फ साँगाचोकगढी नगरपालिकाकी आशिका तामाङ उत्कृष्ट खेलाडी भएको सितोरियो करातेका प्रशिक्षक सचितानन्द बनेपालीले जानकारी दिए ।

प्रतियोगिता सूर्यविनायक नगर सितोरियो कराँते सङ्घ को आयोजनामा र सूर्यविनायक नगरपालिकाको विशेष प्रायोजनमा भक्तपुरमा जेठ ९ र १० गते सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले गरेका थिए भने प्रारम्भ बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले खेल सामग्री हस्तान्तरण गरेर गरेका थिए । समापन समारोह तथा पुरस्कार वितरण सूर्यविनायक नगर प्रमुख वासुदेव थापाको प्रमुख आथित्यतामा, सूर्यविनायक नगरापालिका वडा नं. २ का अध्यक्ष प्रदीप कार्की र वडा नं। ९ का अध्यक्ष भगवान् खत्रीको आतिथ्यतामा सम्पन्न भएको थियो ।

विजेता खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र र विजेता टिमलाई ट्रफिले सम्मान गरिएको थियो । मेडल र ट्रफि वितरण गदै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले खेलको विकास गर्न सके मात्र समुन्नत नगर विकास गर्न सकिने बताए । उनले अव को विश्व विजय भनेको केवल हाम्रा खेलाडीले गर्न सक्ने बताउँदै यसका लागि सबैले खेल क्षेत्रको विकासमा जोड दिनु पर्ने उनको जोड थियो ।

कार्यक्रम संयोजक तथा भक्तपुर जिल्ला सितोरियो कराँते सङ्घका वरिष्ठ उपाध्यक्ष रामशरण त्वातीका अनुसार प्रतियोगितामा १२० पुरुष र ९० महिला खेलाडी गरी २१० खेलाडी सहभागी थिए। सहभागी नगरपालिकाहरूमा मध्यपुरथिमी, चाँगुनारायण, बनेपा, पाँचखाल, काठमाडौँ, बुढानीलकण्ठ, गोदावरी, गोकर्णेश्वर, बागमती गाउँपालिका, टोखा, साँगाचोकगढी, पनौती, धुलिखेल लगायतका पालिकाहरूको सहभागिता रहकोको थियो ।

प्रतियोगिता विभिन्न तौल समूहमा सम्पन्न भएको थियो — पुरुष तर्फ ३५ केजीदेखि ६७ं केजीसम्म र महिला तर्फ ३५ केजीदेखि ६१ केजीसम्म. साथै महिला–पुरुष व्यक्तिगत काता तथा टिम काता खेलमा पनि प्रतियोगिता आयोजना गरिएको थियो । सम्पूर्ण खेलहरू World Karate Federation (WKF), Asian Karate Federation (AKF) र Nepal Karate Federation (NKF) को मापदण्ड अनुसार सञ्चालन गरिएको थियो ।
कार्यक्रममा कराँते खेलको विकासमा विशेष योगदान पुर्याउने खेल प्रशिक्षक, व्यवस्थापक, तथा सङ्घ प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो । प्रतियोगिताका चिफ रेफ्री प्रकाशमोहन धौवडेल रहेका थिए । सूर्यविनायक नगरपालिकाको अग्रसरता, खेल संघको सशक्त व्यवस्थापन र खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले कराते खेलको विकासमा एक महत्वपूर्ण कदमको रुपमा प्रतियोगिता स्थापित भएको सहभागीहरूको भनाइ छ ।


धेरै पढिएको