करातेमा ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फिर्ता

नवनारी
२० जेठ २०८२
335 Views

काठमाडौं – मोरक्कोमा भएको वर्ल्ड कराते फेडेरेसन कराते–१ प्रिमियर लिगमा ऐतिहासिक पदक जितेकी एरिका गुरुङ स्वदेश फर्किएकी छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरुले स्वागत गरेका छन् । महिला ६८ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा फ्रान्सकी पिए क्लेमेन्सलाई हराउँदै एरिकाले नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् । विश्वका उत्कृष्ट ३२ खेलाडीहरूको प्रतिस्पर्धामा नेपालकी एरिका तेस्रो भएकी हुन् ।

उनी करते प्रिमियर लिगमा पहिलो पदक जित्ने नेपाली खेलाडी समेत बनिन् । यसअघि प्रतियोगितामा छनोट भएसँगै एरिका यस्तो प्रतियोगितामा भाग लिने समेत पहिलो खेलाडी बनेकी थिइन् । यसअघि सेमिफाइनलमा पराजित भएकी एरिकाले कास्य पदकका लागि भिड्ने मौका पाएकी थिइन् ।

सेमिफाइनलमा एरिकालाई हराएकी मारिया टोरेसले यो तौल समूहमा स्वर्ण जितेकी छिन् । एरिका एसियाली खेलकुदमा नेपालका लागि रजत विजेता खेलाडी हुन् । उनले चीनको हान्झाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् ।


धेरै पढिएको